समानुपातिक सांसदको सूची तयार पार्ने क्रममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद देखिएको छ । सो पार्टीको खसआर्य खुलातर्फको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता मुकुल ढकालका कारण आफू र दिपक बोहोराको नामावली काटिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।
उनले पार्टीमा जति गरे पनि थिति बसाउन नसकिएको भन्दै प्रवक्ताले आफ्नो गुरुमालाई गुरुदक्षिणा र कर्मचारीलाई अवसर दिएका कारण आफूहरु पछि परेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै कार्कीले भनेका छन्, “म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।
पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।
पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।”
उनले थप लेखेका छन्
“अहिले प्रवक्ता खाँदै गर् । अब हामी सरकारमा जान्छौँ, जान्छौँ, जान्छौँ । बार्गेनिङ मिलिसकेको छ, राष्ट्रिय सभामा हाम्रो एक सिट लगभग पक्का हो, त्यहाँ पनि अवसर हुन सक्छ । अवसरै अवसर छ । पार्टी छोडेर केहि पनि पाउँदैनस् ।” लालच देखाइयो ।
“हकले पाउने छोड्दिन । निगाहमा केहि चाहिदैन । बार्गेनिङ गर्ने दलाल नसम्झिनु ल । अनि सरकारमा गएर हिजो गलत भनेकैहरुलाई काँध हाल्ने कृत्यको बिरोधी हुँ म ।”
लालचले काम गरेन । किनभने, केहि मान्छेहरु यति सस्ता हुन्छन् कि सित्तैमा पाइन्छन् तर किन्न खोज्दा संसारको लालचले पनि नभ्याउने महंगा हुन्छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ