शनिबार, अशोज १३, २०८०

एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड


कान्तिपथ


काठमाडौँ । ऊर्जा विज्ञहरूले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँहरूको सुझाव छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने ऊर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक रु दुई खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

सरकारी तथ्याङ्कअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको सङ्ख्या ८७ दशमलव एक प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइँठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव सात प्रतिशत रहेकामा सो दर बढेर हाल तीन प्रतिशत पुगेको केन्द्रका नायब कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।

ग्यासभन्दा विद्युतीय चुलोको प्रयोग निकै सस्तो हुने विज्ञको तर्क छ । कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विद्युत् आपूर्ति सुनिश्चित भए धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उहाँको धारणा थियो ।

आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडा वर्तन फोहोर न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबिच समन्वय आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्नसके विद्युतीय चुलोका प्रयोगकर्ता बढाउन सकिने उहाँको ठहर छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ऊर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिनुभयो । उहाँले ऊर्जा मन्त्रालयले सन् २०२८ भित्र शतप्रतिशत घरधुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएकाले त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रवीणमान सिंहले दिगो विकास लक्ष्य र नेपालले लिएको शून्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलोजस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेवापसका अध्यक्ष रोशनी अधिकारीले स्वच्छ खाना पकाउने ऊर्जा प्रवर्द्धनका लागि बिजुलीको गुणस्तरीयता र पूर्वाधार विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने, सन् २०२५ भित्र पाँच लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय खाना पकाउन अपनाउने लगायत लक्ष्य लिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत