शुक्रबार, जेष्ठ ३, २०८२

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण


कान्तिपथ


काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभयो । 

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उहाँले सुनाउनुभयो । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । 

मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत