अछाम । अछामको साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरणको जानकारी गराउनुभयो ।
साँफेबगर नगरपालिका, प्रदेश सरकार, सबै वडा, संघीय सरकारको ससर्त, अनुदान, समपूरक तिरको आर्थिक वर्ष २०७८/०७९ को शीर्षकगत बजेट तथा खर्च सहित क्षेत्रगत तथा लक्षित समूहमा विनियोजन बजेटको खर्चको बारेमा समेत जानकारी गराउनुभयो । नगरपालिकाको कुल अनुमानित बजेट ७७ करोड ५८ लाख ७३ हजार रहेको थियो । गत वर्ष ७२ करोड ९२ लाख ५८ हजार निकासा भएकोमा ६६ करोड ९० लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७८/०७९ मा ८८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरि आर्थिक बर्ष २०७८/०७९ मा नगरपालिका मार्फत पोषण, कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सूचना प्रविधि, खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, राजश्व सङ्कलन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य शाखा, न्यायिक समितिको प्रगति र मेडपा लघु उद्यम विकासमा भएको प्रगति प्रतिवेदन विषयगत शाखाका प्रमुखले प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइमा नगर प्रमुख राजेन्द्र कुँवरले नगरवासीको सुझाव अनुसार आगामी दिन थप सुधार गर्दै लैजाने बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ