मङ्लबार, बैशाख ९, २०८२

ग्रिन बेल्ट अतिक्रमण गरी बनाइएका घर टहरा हटाउँदै गाउँपालिका 


कान्तिपथ


कञ्चनपुर । कञ्चनपुरको  बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माणका लागि ग्रिन बेल्टमा अतिक्रमित जग्गा खाली गराउने कार्य सुरु गरिएको छ । बेलडाँडी गाउँपालिका कार्यालयले शनिबार डोजर लगाएर अतिक्रमित जग्गामा बनाइएका घर टहरा हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस अघि साउन महिनामा  ३५ दिने सूचना जारी गर्दै पूर्वमा चवन्नी बेलडाँडी सडकखण्ड, पश्चिममा लटिनाथ मालिकार्जन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस गरी चार किल्ला भित्रको १ बिगाहा १७ कट्ठा बराबरको जग्गा खाली गर्न अनुरोध गरेको थियो । मङ्सिरमा थप ७ दिने सूचना जारी गर्दै घर टहरा हटाउन सूचित गरिए पनि सरोकारवालाहरूले घर टहरा नहटाएपछि गाउँपालिकाले डोजर लगाएरै अतिक्रमित क्षेत्र खाली गराउन लागेको गाउँपालिकाका अध्यक्ष रानाले बताउनु भयो । १५ शय्याको अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको अवस्थामा भौतिक संरचना  बनाउन आवश्यक जग्गा तत्कालै खाली गराउनु पर्ने भएकोले गाउँपालिकाले उक्त कदम चालेको उहाँको भनाइ छ ।

बेलडाँडी गाउँपालिकाको उक्त कदम प्रति गाउँपालिकाकै उपाध्यक्ष शान्ति नाथले भने आपत्ति जनाउनु भएको छ । अस्पताल बनाउने कार्यमा आफ्नो पूर्ण सहमति रहेको भए पनि उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको पूर्व व्यवस्थापन नगरी घर टहरा भत्काउने कार्य प्रति आफ्नो असहमति रहेको उहाँको भनाइ छ । गाउँपालिकाले कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने भन्दै उपाध्यक्ष नाथले घर टहरा हटाउने नै हो भने  ग्रिन बेल्टका नामले चिनिने ७२ बिगाहा जमिन पुरै खाली गरिनु पर्ने अडान लिनु भएको छ । गाउँपालिका उपाध्यक्ष नाथले विरोध जनाएपछि तनाव ग्रस्त भई घर टहरा हटाउने कार्य रोकिएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तयनाथ गरी पुनः कार्य सुचारु गरिएको गाउँपालिका अध्यक्ष रानाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत