तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् ।
के लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि २३ वर्षीय किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्लान् । फाइनलअघि यी दुई खेलाडीकै वरपर रहेर धेरै अड्कलबाजीहरु भइरहेका छन् ।
पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।
फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कुल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । तीन खेल बराबरीमा टुङ्गिएको थियो । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।
पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो । यी दुईबीच पहिलो खेल नै १९३० को विश्वकपमा भएको थियो । जहाँ अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो ।
२०१८ को विश्वकप पछि अर्जेन्टिनाले टिममा ब्यापक परिवर्तन गरेको छ। त्यतिबेलाको टिमका लियोनल मेस्सी, एन्जल डिमारिया, ओटामेन्डी, डिबाला, अकुना र ट्याग्लिफिको मात्रै अहिले टिममा छन्।
डिबालाले एक खेलमा मात्रै थोरै समय मौका पाएका छन्। ४ वर्ष पहिले फ्रान्सविरुद्ध सुरुवाती ११ मा खेलाएका मेस्सी र ओटामेन्डी मात्रै दोहोरिन सक्छन्। डिमारिया पछिल्ला खेलमा नै सुरुवाती टिममा छैनन्। अकुना र डिबालाले २०१८ मा फ्रान्सविरुद्ध खेलेका थिएनन्। तर यसपटक अकुना पहिलो रोजाइका लेफ्टब्याक हुन्। ओटामेन्डी सबै खेलमा सुरुवातमा परेका छन्।
नेदरल्याण्ड्सविरुद्ध ५–३–२ को फर्मेसनमा खेलेको अर्जेन्टिनाले अरु खेल ४–४–२ मा खेलेको छ। यसपटक अर्जेन्टिनाको मिडफिल्डमा सेट नै नयाँ छ। गएको विश्वकपमा मास्चेरानो, बानेगा र पेरेज मिडफिल्डमा थिए। तर यसपटकयी तीनै जना टोलीमा छैनन्। डे पल, म्याक अलिस्टार र इन्जो फर्नान्डेज अर्जेन्टिनाको भरपर्दा मिडफिल्डर हुन्। फ्रान्सविरुद्ध सुरुवातमा डिमारिया र पेरेडेज मध्ये एक जनाले मौका पाउने सम्भावना छ।
आक्रमणमा पनि मेस्सीका सारथी नयाँ हुनेछन्। गोल्डेनबुटको दौडमा रहेका जुलियन अल्भारेजले फ्रान्सविरुद्ध पनि सुरुवात गर्नेमा शंका छैन। गएको विश्वकपमा फ्रान्सविरुद्ध सुरुवात गरेका फरवार्ड त्रिस्टियन पाभार्ड यसपटक टोलीमै छैनन्। सर्जिओ अग्युरोले पनि दोस्रो हाफ खेलेका थिए। उनले पनि शन्यास लिइसकेका छन्।
फागिओ, हिगुइन र मेजा पनि यसपटक टोलीमा छैनन्। उनीहरुको स्थानमा लौटारो मार्टिनेज, एन्जल कोरेया, पपु गोमज, पाउलो डिबाला जस्ता खेलाडी अर्जेन्टिनाको बेन्चमा रहनेछन्।
गोल रक्षक पनि फेरिएका छन्। अर्मानीको स्थान इमिलियानो मार्टिनेजले लिएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ