मङ्लबार, असार २४, २०८२

तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान


कान्तिपथ


तनहुँ I तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । 

“गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भन्नुभयो । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो ।  

गाउँपालिकाले असहाय रोगीलाई रु दश हजार प्रदान गर्दै आएकामा चालु आवदेखि रु पन्ध्र हजार आर्थिक सहायता प्रदान गर्दैआएको श्रेष्ठले जानकारी दिनुभयो । चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई रु २९ लाख ८६ हजार रकम वितरण गरिएको छ । 

आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय बीस रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । किसानलाई उत्पादनसँग जोड्न १६  हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत