फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो फिफा विश्वकप २०२२ को उपाधि जितेको छ ।
कतारको दोहास्थित लुसेल स्टेडियममा आईतबार भएको रोमाञ्चक फाईनल खेलमा अर्जेन्टिनाले डिफेन्डिङ्ग च्याम्पियन फ्रान्सलाई पेनल्टी शुटआउटमा ४-२गोल अन्तरले हराएको हो । यो अर्जेन्टिनाको तेश्रो विश्वकप उपाधि समेत हो ।
फ्रान्सका किङ्गस्ले कोमान र ओरेलीयन टुचामेनीले पेनल्टी चुकाउँदा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।
यी दुईबिचको निर्धारित समयको खेल २–२ र एक्स्ट्रा टाईमको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेलको नतिजा पेनल्टी शुटआउटबाट लागेको हो ।
एक्स्ट्रा टाईमको खेलको १०९औं मिनटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई खेलमा ३–२ गोल अन्तरको अग्रता दिलाएका थिए । तर खेलको ११८औं मिनटमा एम्बाप्पेले पेनल्टीबाट गोल गर्दै फ्रान्सलाई पुनः ३–३ गोलको बराबरी अवस्थामा पुर्याएका थिए ।
यो एम्बाप्पेको ह्याट्रिक गोल समेत थियो भने विश्वकप इतिहासको फाईनलमा कुनै पनि खेलाडीले गरेको दोश्रो ह्याट्रिक समेत हो ।
यसअघि निर्धारित समयको खेलमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जल डी मारियाले एक गोल गरे भने फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल गरे ।
खेलको २१औं मिनटमा डेम्बेलेले एन्जल डी मारियालाई बक्सभित्र लडाउँदा अर्जेन्टिनाले पेनल्टीको मौका प्राप्त गरेको थियो । उक्त मौकामा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यो मेस्सीको विश्वकपमा १२औं गोल हो भने जारी संस्करणको पाँचौं गोल हो । गोल्डेनबुटको दावेदारीमा मेस्सी शिर्ष स्थानमा पुगेका छन् । यसबाहेक आज फ्रान्सविरुद्ध मैदानमा उत्रिएका मेस्सी सबैभन्दा बढी विश्वकप (२६ खेल) खेल्ने खेलाडी बनेका छन् ।
यसपछि खेलको ३६औं मिनटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोल अन्तरको अग्रता दिलाए ।
तर खेलको ७९औं मिनटमा ओटोमेन्डीले मुआनीलाई डी बक्सभित्र लडाएपछि फ्रान्सले पाएको पेनल्टीको अवसरमा एम्बाप्पेले गोल गरेका थिए ।
लगतै दुई मिनटपटि मार्कश थुरमको असिस्टमा एम्बाप्पेले ब्यक्तिगत दोश्रो गोल गर्दै फ्रान्सलाई खेलमा २–२ गोलको बराबरी दिलाउँदै खेललाई रोचक बनाएका थिए ।
मेस्सीले यसअघि नै फ्रान्सविरुद्धको फाईनल खेल आफ्नो अन्तिम खेल हुने घोषणा गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ