शनिबार, अशोज १३, २०८०

गुठी ऐन तर्जुमा गर्न समिति गठन


कान्तिपथ


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । मन्त्रीस्तरीय निर्णयानुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहनुभएको संयोजक सोतीले राससलाई जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो । समितिले मस्यौदा तयार पारिसकेको छ । त्यसलाई अन्तिम रुप दिएर यसै हप्ता प्रतिवेदन बनाएर मन्त्रीसमक्ष पेश गर्ने समितिको तयारी छ ।

प्राचीनकालदेखि चल्दै आएका कतिपय पर्व, पूजा सञ्चालनका लागि गुठी छैन । गुठी भएकालाई पनि थप व्यवस्थित गरिनुपर्ने अवस्था छ । त्यो विषयलाई पनि प्रस्तावित मस्यौदामा समावेश गरिएको जनाइएको छ । गुठी ऐन नआएकै कारण गुठी संस्थानले रिक्त भएका स्वीकृत दरबन्दी पनि पूर्ति गर्न सकेको छैन ।

संस्थान हाल स्वीकृत दरबन्दीको ५० प्रतिशतभन्दा कम जनशक्तिका भरमा सञ्चालन भइरहेको छ । जसका कारण काम गर्न असहज भएको संस्थानले गुनासो गर्दै आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत