मङ्लबार, असार २४, २०८२

नेपालमा गत वर्ष ३ खर्ब २३ अर्बको खाद्यान्न आयात


कान्तिपथ


जनकपुरधाम । विश्वमा वातावरणमा आएको परिवर्तनका कारणले कतिपय परम्परागत खाद्यान्न बालीहरूको उत्पादनमा आएको ह्रासबाट मानवको पोषण अवस्थामा नकारात्मक प्रभाव परेको एक कार्यक्रममा सहभागीहरूले जोड दिनुभएको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा विश्व खाद्य कार्यक्रमले आज जनकपुरधाममा संयुक्त रुपमा आयोजना गरेको “प्रादेशिक खाद्य प्रणालीको समीक्षा तथा योजना तर्जुमा” सम्बन्धी कार्यक्रममा सहभागीहरूले मानवलाई अधिक पोषण दिने कतिपय खाद्यहरू उत्पादन हुन छाडेकाले त्यसको संरक्षण आवश्यक भएको बताउनुभयो ।

विदेशबाट वर्षेनी ठूलो परिमाणमा चामल, धान, मकै र गहुँको आयात भइरहेको राष्ट्रिय योजना आयोगका कृषि महाशाखाका निर्देशक महेश खरेलले जानकारी दिनुभयो ।

उहाँले गत आर्थिक वर्ष २०७७–७८ मा विदेशबाट ३ खर्ब २३ अर्बको खाद्यान्न आयात भएको जानकारी दिनुहुँदै २०७८–०७९ धान चामल ४७.५७ अर्ब, मकै २०.४५ अर्ब, गहुँ ६.७३ अर्ब तथा तरकारी बाली ३८.६८ अर्बको विदेशबाट आयात भएको तथ्याङ्क सुनाउनुभयो । आयात प्रतिस्थापनका लागि देशमा नै उत्पादन बढाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।

नेपालीहरूले कूल आम्दानीको ५३.८२ प्रतिशत खाद्यान्नको खरिदमा खर्च गर्नुपरेको र ४८ प्रतिशत घर धुरी खाद्यान्नको जोखिममा रहेको बताउँदै वातावरणमा आएको नकारात्मक परिवर्तनको प्रभाव कम गर्न तीनै तहका सरकार मिलेर कामकाज गर्न आवश्यक भएको निर्देशक खरेलले बताउनुभयो ।

कृषि विज्ञ एवं मधेश प्रदेशका कृषि निर्देशनालयका निर्देशक डा. रतन कुमार झाले लोप हुन थालेको परम्परागत बालीको संरक्षणका साथै अन्य बालीहरूको उत्पादन बढाउनका लागि विशेष पहल गर्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य प्रमीला सिंहले कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउँदै नदी उकास जग्गामा बगर खेती गर्नका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्द मण्डलले परम्परागत रुपमा हुने गरेका बालीहरूको जगेर्ना गरेर आफ्नै खेतमा उत्पादन भएको खाद्यान्न उपभोगका लागि प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभयो ।

लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आफ्नो पालिका बगर खेती प्रोत्साहनका लागि किसानलाई विशेष अनुदान दिने पक्षमा भएको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले परम्परागत बालीहरूको जगेर्ना गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत, धानबाली अनुसन्धान केन्द्र बनिनीयाका कृषि वैज्ञानिक डा. रामवरण यादव सहितका व्यक्तिहरूले खाद्यको उत्पादन, वितरण तथा प्रशोधनमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत