बिहीबारदेखि सञ्चारमाध्म र सामाजिक सञ्जालमा केही तस्बिर छाइरहेका छन्। तस्बिरमा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड एकै सोफामा बसेका छन् र खुलेर हाँसेका छन्।
तपाईंलाई लाग्ला– दुई कम्युनिष्ट पार्टीका अध्यक्ष एकै सोफामा बस्नु र एकअर्कासँग हाँसेर बोल्नु के नौलो कुरा भो र? होइन नौलो कुरा। दुई वर्ष अघिसम्म यो कुरा सामान्य थियो। ओली र प्रचण्ड एकै पार्टीका अध्यक्ष थिए। देश हाँकिरहेका दुई सारथी थिए।
पछिल्ला दुई वर्ष भने ओली र प्रचण्ड दुई ध्रुवका जस्ता भए। ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका ओली र प्रचण्डबीच यसबीचमा राम्रो सम्बन्ध रहेन। संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा, उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे।
चार मंसिरको प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्यता बढ्दो छ। बुधबार (६ पुस) राष्ट्रपति निवास शितल निवासमा आयोजित जेष्ठ सांसद पशुपति शमशेर राणाको शपथ ग्रहण कार्यक्रममा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै सिटमा कुराकानी गरेको तस्बिर भाइरल भयो।
एमालेलाई माओवादीको साथ भए सजिलै सरकार बनाउन सकिने विश्वास छ। त्यही भएर शितल निवासको त्यो औपचारिक भेटलाई ओलीले सदुपयोग गरिहाले। उनले प्रचण्डसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन मिलेर सरकार बनाउने प्रस्ताव प्रचण्ड समक्ष राखे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ