बिहिबार, मंसिर २१, २०८०
  • गृहपृष्‍ठ
  • विचार
  • प्रधानमन्त्री पाउँदा हराएको दौराको महेन्द्रीय राष्ट्रवादी हरक !

प्रधानमन्त्री पाउँदा हराएको दौराको महेन्द्रीय राष्ट्रवादी हरक !


कान्तिपथ


नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । यसअघि २०६५ तथा २०७३ मा दुईपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रचण्डले कोट पाइन्ट लगाएका थिए । यसपटक भने नेपाली पोशाक सजिएका हुन् ।

आइतबार नाटकीय ढंगले राजनीतिमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेलगायत सात दलका १७० जना सांसदहरुको समर्थनमा प्रचण्डले आफ्नो तेस्रो इनिङको प्रारम्भ गरेका हुन् । २७५ जना सांसद रहेको प्रतिनिधिसभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ। यसअघि सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा उनी हमेसा टाइ–सुट र भादगाउँले टोपी लगाउँथे ।

युद्ध छाडेर शान्ति प्रक्रियामा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए । ‘कम्युनिस्ट भनेका अन्तर्राष्ट्रियवादी हुन्’,‘माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे, अहिले त्यसलाई सुट र टाइमा परिणत गरिएको छ ।’ भन्दै प्रचण्ड आफ्नो पोसाकको बचाउ गर्थे ।

२०६८ सालभन्दा पहिला दौरा सुरुवाल र गुन्युचोली नेपालको आधिकारिक राष्ट्रिय पोसाक थियो । जनयुद्धको बेला माओवादीहरू दौरा सुरुवाललाई महेन्द्रीय राष्ट्रवादसँग जोड्थे । राजा–महाराजाले नेपालको विविधतापूर्ण समाजमा रहेको जातजाति र संस्कृतिमाथि एक भाषा एक भेषको नीति लादेको भन्दै माओवादी नेताहरूले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दौरा सुरुवाल लगाएनन् ।

पछिल्लो समय प्रचण्डको ड्रेस कोड सम्बन्धी स्कुलिङ्ग भुलेर दौरा रोज्ने लर्को माओवादीमा बढ्दो छ । पछिल्लो समय नन्दकिशोर पुन पासाङ, तत्कालीन माओवादी नेता टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई, अग्निप्रसाद सापकोटा, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, राम कार्की लगायतका नेताहरू दौरा पोजमा देखिसकेका छन् ।

१० वर्ष युद्ध गर्दै सत्तामा पुगेको माओवादीप्रति जनताको ठूलो भरोसा थियो तर जनताको त्यो भरोसालाई बचाइराख्न सकेन। आफूप्रतिको जनताको विश्वासको साख गिराउँदै-गिराउँदै गयो। २०६५ को सबैभन्दा ठूलो पार्टी २०७९ सालको निर्वाचनसम्म आइपुग्दा निकै कमजोर देखियो। त्यसको परिणाम उसले कहिले एमाले त कहिले कांग्रेसको बैसाखी सहारामा चुनावमा होमिनु परिरहेको छ। २०७९ को स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसको सहायतामा माओवादी निर्वाचनमा होमिएको हो।

माओवादीका नेता राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षबाहेक राज्यका महत्त्वपूर्ण पदमा पुगिसकेका छन्। संघीय संरचनामा गइसकेपछि तीन प्रदेशमा माओवादी नेताहरू मुख्यमन्त्री भइसकेका छन्।

सत्ता र त्यसको वरिपरि पुगेका माओवादी नेता/कार्यकर्ताको जीवन कायापलट भएको छ। माओवादीले सीमान्तकृत जनतालाई राज्यको पहुँचमा पुर्‍याउने नारा दिएर ‘जनयुद्ध’ गरे पनि आफ्नो बाचा बिर्सिएर सत्तालाई प्राथमिकता दिइरह्यो परिणामत सत्तामा सबैभन्दा नातावादलाई प्रश्रय दिने पार्टी माओवादी बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत