ललितपुरमा एमाले र माओवादीका दुई जना नेताबीच भेट भएको छ । धापाखेलस्थित भट्ट निवासमा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट र नेकपा एमाले सचिव लेखराज भट्टबीच कुराकानी भएको हो ।
उनीहरुले हिजो बिहान एक घण्टा कुराकानी गरेका थिए । खगराज भट्ट सुदूर पश्चिम प्रदेशमा आगामी कार्यकालको निम्ति मुख्यमन्त्री बन्न इच्छुक छन्, तर उनी संसदीय दल मै हार्ने सम्भावना छदैछ । उनले आफ्नो चाहनालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखिसकेका छन् । उनले आफ्नो चाहना ओलीसम्म पुर्याईदिन लेखराजलाई भेटेको हुनसक्ने उनी निकट एक नेताले बताए । ३ पटक देउवासँग चुनाव हारेका खगराज यसपाली देउवा कै पछि लागेर प्रदेशमा विजयी भएका छन् ।
सुदूरपश्चिममा रेशम चौधरीको पार्टी राष्ट्रिय उन्मुक्ति सरकार गठनमा निर्णायक भूमिकामा देखिन्छ । त्यहाँ उक्त पार्टीको ७ सीट छ भने माओवादीको ११ र एमालेको १० जना प्रदेश सभा सदस्य छन् । माधव नेपाल नेतृत्वको पार्टीको पनि ४ सीट छ ।
नागरिक उन्मुक्तिले अहिले सरकारसँग तीन बुँदे माग सम्बोधन गर्न आग्रह गरिरहेको छ । रेशम चौधरीलगायत कारागारमा रहेकाहरू रिहा गरिनुपर्ने, टीकापुर घटनामा ५८ जनामाथि लगाइएको मुद्दा खारेज गरिनुपर्ने र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग नागरिक उन्मुक्तिले अघि सारेको छ ।
यी तीन माग सम्बोधन नहुँदासम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ