जनकपुरधाम । नव निर्वाचित मधेस प्रदेशका सभा सदस्यहरुले भोलि हुने शपथ ग्रहण कार्यक्रममा ८ मातृ भाषा शपथ लिने भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराउनु भएको छ । ।
प्रदेश सभामा नेपाली बाहेकका भाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरूका लागि हिजो साँझ ५ बजेसम्मका लागि निवेदन दिनका लागि समय तोकिएकोमा जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ७ गरी १३ जना प्रदेशसभा सदस्यहरु बाहेक अन्य सदस्यहरुले उर्दुदेखि नेपालीसम्मका ८ भाषामा शपथ लिन चाहेको भन्दै निवेदन दिनु भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सप्तरी–१ (क) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका राजकुमार लेखी, सिरहा–१ (क) बाट निर्वाचित राजेन्द्र प्रसाद चौधरी र बारा–४ (क) बाट निर्वाचित देवनारायण थारुसहित ३ जनाले थारु भाषामा शपथ लिने भन्दै निवेदन दिनु भएको छ ।
महोत्तरी ३ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका अभिराम शर्मा, सर्लाही–१ बाट निर्वाचित लोसपाका उपेन्द्र महतो, रौतहट–१ (ख) बाट निर्वाचित कांग्रेसका कृष्ण कुमार यादव, सर्लाही–२ (ख) बाट निर्वाचित कांग्रेसका कौशल किशोर राय, सर्लाही–२ (क) बाट निर्वाचित कांग्रेसका जंगीलाल राय, रौतहट–१ (क) बाट निर्वाचित कांग्रेसका नागेन्द्र साह, लोसपाका समानुपातिक सांसद रमिता प्रधान र रुपा कुमारी यादव, महोत्तरी–३ (ख) बाट प्रत्यक्ष निर्वाचित लोसपाका रानी कुमारी तिवारी, सर्लाही–४ (क) बाट निर्वाचित कांग्रेसका वीरेन्द्र कुमार सिंह, नेपाली कांग्रेसका समानुपातिक सांसद सकुन्ती देवी महरा, जसपाका समानुपातिक सांसद शोभा देवी र सर्लाही–३ (ख) बाट प्रत्यक्ष निर्वाचित जसपाका सञ्जय कुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने भन्दै आवेदन दिनु भएको छ ।
भोजपुरी भाषामा जसपाका समानुपातिक सांसद शाहिदा खातुन, बारा–२ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर, पर्सा–२ (ख) बाट निर्वाचित लोसपाका रमेश प्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद शारदा पहाडी, रौतहट–४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद, बारा–१ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार यादव र पर्सा–४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवारसहित ७ जनाले शपथ लिने भन्दै निवेदन दर्ता गराउनु भएको छ ।
महोत्तरी–१ (ख) बाट निर्वाचित माओवादी केन्द्रका भरत प्रसाद साह र महोत्तरी–४ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार सिंहसहित दुई जनाले मगही भाषामा शपथ लिने भन्दै निवेदन संसद् सचिवालयमा आवेदन दिनु भएको छ ।
बारा–४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल र महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले जानकारी दिएको छ ।
मैथिली भाषामा भने धनुषा–२ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव र सिरहा–१ (ख) बाट निर्वाचित राजकुमार गुप्ता तथा धनुषा–१ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा–३ (क) बाट निर्वाचित कांग्रेसका रामसरोज यादव, धनुषा–४ (क) बाट निर्वाचित कांग्रेसका शेषनारायण यादव, जसपाका समानुपातिक सांसदहरु मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, कांग्रेसका समानुपातिक सांसद कुमरकान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने भन्दै निवेदन दिनु भएको संसद् सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले जानकारी दिनु भयो ।
नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी विमला अन्सारी तरुन्नुमले भने उर्दु भाषामा शपथ लिने निमित्त सचिव यादवले जानकारी दिनु भएको छ । यता, जनमत पार्टीका प्रत्यक्ष निर्वाचित सकिय मियाँ, सतिश कुमार सिंह, महेश प्रसाद यादव, शम्भु कुमार साह, सञ्जयकुमार यादव र त्रिभुवन साहसहित समानुपातिक सांसदहरु बबिताकुमारी राउत इसर, अनिताकुमारी साह, चन्दन कुमार सिंह, बसन्त कुमार कुशवाहा, रञ्जुकुमारी मण्डल खंग, हसिना खातुन र भाग्यश्री कुमारी चौधरीले संसद् सचिवालयमा आज ढिलो गरि शपथ ग्रहणको विषयमा आवेदन दिनु भएको छ ।
उहाँहरू मध्ये केहीले मैथिली तथा केहीले मधेशी भाषमा शपथग्रहण गर्ने भन्दै आवेदन दिनु भएको र समयमा नआएकाले यस विषयमा ज्येष्ठ सदस्यको शपथग्रहण पछि हुने बैठकले निर्णय गर्ने बताउनु भयो ।
प्रदेशसभाका सदस्यहरूलाई आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन सूचितसमेत गरिएको थियो ।
संसद् सचिवालयले शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ ।
मधेश प्रदेश सभा सचिवालयमा भोलि दिउँसो २ बजेका लागि शपथको मिति तय भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ