विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्। सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेका हुन् । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो ।
भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाए । भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटिएका हुन्।
यादवको पहिचानपछि उनले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताए। सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताए।