बिहिबार, साउन ३, २०८१

७ वर्षे ‘डेडलक’ तोड्दै को पुग्ला अनेरास्ववियुको नेतृत्वमा ?


कान्तिपथ


सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं राष्ट्रिय अधिवेशनको तयारीमा जुटेको छ। एमालेसम्बद्ध जनवर्गीय मोर्चा हेर्ने विभागले उक्त तयारी थालेको छ। सम्भव भएसम्म त्रिवि स्ववियू चुनाव अगाडी नै अखिलमा नयाँ र फ्रेस नेतृत्व ल्याएर स्ववियू निर्वाचनमा होमिने तयारी मातृ पार्टीले थालेको बुझिन्छ ।

२०७२ फागुन ९ गते नविना लामा अध्यक्षमा निर्वाचित भएपछि ७ वर्षदेखि एमाले अखिलको अधिवेशन हुन सकेको छैन । आगामी फागुन ९ गते अखिलको अन्तिम अधिवेशन भएको ७ वर्ष पुग्दैछ । तत्कालिन समयमा दीपक गौतमलाई पराजित गर्दै लामा अखिलको २२ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टी विभाजनमा माधव नेपालतिर लागेर गौतम हाल काभ्रेको जिल्ला समन्वय समितिका प्रमुख छन् भने काभ्रे कै लामा अघिल्लो प्रतिनिधिसभामा समानुपातिक सांसद भैसकेकी छन् । २२ औं महाधिवेशन लामाले ८६५ मत ल्याएकी थिइन् भने गौतमले ६४९ मत पाएका थिए ।

लामा अध्यक्ष भएकै बेला २०७४ मा माओवादीसँग वाम गठबन्धन हुँदै पार्टी एकता भएपछि अखिलको नेतृत्वमा महासचिव ऐन महर आए । तत्कालिन नेकपाले पार्टी एकताको वर्ष दिनपछि जनवर्गीय संगठनको नेतृत्व चयन गरेको थियो । २०७६ जेठ २ गते महर संयुक्त अनेरास्ववियूको संयोजक चयन भएका थिए । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नविना लामा विद्यार्थी राजनीतिबाट टाढिने मनशायमा पुगेपछि त्यताबाट उपाध्यक्ष रश्मी आचार्य, सुनिता बराल र महासचिव ऐन महर नेतृत्वमा दाबी गरिरहेका थिए । तर अन्तिममा ओलीले महर रोजेका थिए । एकता प्रक्रिया क्रममा नेतृत्वमा ‘बढुवा’ भएर जिम्मेवारी पाउने महर एक मात्र नेता थिए।

यसैबीच आश्विन २, २०७८ मा च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले सुनिता बराललाई अनेरास्ववियुको अध्यक्ष तोक्यो । बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसकेकी थिइन् । उनी अखिलकी तेस्रो महिला अध्यक्ष हुन् । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । अखिलको नेतृत्वमा बराल आएपछि निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका थिए । महर बझाङ्गबाट प्रतिनिधिसभामा भानुभक्त जोशीसँग पराजित भए भने बर्तौलाले विरोध खतिवडालाई पराजित गर्दै संघिय सांसदमा स्थान पक्का गरे । आचार्य र लामा टिकटका आकांक्षी भएपनि यसपाली चुके ।

वहालवाला अध्यक्ष सुनिता बराल प्रतिनिधि सभा तर्फको समानुपातिक सांंसद बनेपछि अखिलमा भावी नेतृत्वको बहस छेडिएको छ । ७ वर्षदेखि अधिवेशन हुन नसकेको अखिलको डेडलक तोड्दै नेतृत्वमा पुग्न ५ जनाको नाम चर्चामा आएको छ । अखिलका वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसँगै उपाध्यक्षहरु उमेश आचार्य, मोती विक र झपिन्द्र खत्रीको नाम अखिल अध्यक्षको चर्चामा छ। अखिलमा देखिएको यो रस्साकस्सी तोड्दै अध्यक्षमा को पुग्छ त्यो हेर्न भने केहि समय कुर्नु पर्ने हुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत