बिहिबार, साउन १०, २०८१

लुम्बिनी प्रदेश सरकार गठनका लागि पुस २७ गतेसम्मको समयसीमा 


कान्तिपथ


रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार ४ः०० बजेसम्मको समय तोक्नुभएको छ । 

पुस १७ गते सांसदहरूको शपथ ग्रहण तथा १८ गते प्रदेशसभा अधिवेशन सुरु भइसकेको छ । 

प्रदेश प्रमुख शेरचनले प्रदेशसभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन् । एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन् । तर केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन । एमालेले पहिलो दल भएकाले कुनै पनि हालतमा लुम्बिनी नछाड्ने गरी अगाडि बढेको छ भने माओवादीले आफ्नो आधार इलाका मानिएको क्षेत्र र स्थायी कमिटीकै सदस्य रहेका महरालाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ ।  

एमालेसँग २९ र माओवादीसँग १० सांसद रहेका छन् । सत्तारुढ दलको गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्ति ४÷४, जसपा र जनमतको ३÷३ सांसद रहेका छन् । 

सदनमा २७ सांसदसहित दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले पनि अहिलेको गठबन्धनलाई भत्काउन नागरिक उन्मुक्ति, जसपा, जनमतलाई ठुलै भाग दिएर मनाउन खोजेको छ । तर केन्द्रमा भएको गठबन्धनविरुद्ध तत्काल जान नसकिने ती दलका नेताहरूले बताएकाले त्यो सम्भावना कम देखिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत