शनिबार, साउन ५, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मन्त्री बन्न कान्छा ज्वाईंको चलखेल : सामन्तवाद त अझै रहेछ भन्दै कार्यकर्ता चकित !

मन्त्री बन्न कान्छा ज्वाईंको चलखेल : सामन्तवाद त अझै रहेछ भन्दै कार्यकर्ता चकित !


कान्तिपथ


प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत रहेका जीवन आचार्य प्रदेश १ को मन्त्री बन्न दौडधुपमा लागेपछि पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । मोरङ ६ को प्रदेशसभा १ बाट चुनाव जितेका आचार्य भौतिक पूर्वाधारमन्त्रीको दाबीसहित अहिले लबिङमा रहेको बताइएको छ । मुख्यमन्त्री नपाए माओवादीबाट सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने आचार्यले बताएको माओवादी स्रोतले जानकारी दिएको छ ।

माओवादीनिकटको पत्रकार संगठन प्रेस सेन्टरका प्रदेश १ अध्यक्ष विनोद घिमिरेले आचार्यको जिम्मेवारीको छलाङलाई आफूले सामान्तवादको अवशेषको रूपमा लिएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रचण्डका ज्वाइँ जीवन आचार्य प्रदेशको मन्त्री नै बन्ने र बनाउने कुरा चलिरहेको छ यदि जीवन आचार्य यहाँको मन्त्री बने भने उहाँमा (अध्यक्ष प्रचण्ड) मा सामन्तवादको अवशेष हैन भण्डार नै भएको पुष्टि हुन्छ ।’

दोस्रो पटकको चुनावी परीक्षामा यसपटक मोरङ ६ को १ बाट प्रदेश सभामा निर्वाचित आचार्य जुनियर माओवादी हुन्। प्रदेश १ को माओवादी संसदीय दल तथा प्रदेश कमिटीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। इन्द्र आङ्बो दलको नेता भएलगत्तै प्रदेशको सरकारमा दाबी गर्ने माओवादी निर्णय भएको थियो। प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव राम कार्की, संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङ्ग मुख्यमन्त्री माग्नका लागि गठित कार्यदलमा छन्।

आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन्। गंगा दाहालका पति उनी बिहेपछि मात्रै माओवादीसँग जोडिएका हुन्। प्रचण्डको ज्वाइँ भएकै कारण उनले अवसर पाएको भन्दै उनको आलोचना हुने गरेको छ।

मोरङ बुढिगंगाका बासिन्दा आचार्यले गंगासँग बिहे गरेपछि २०७५ मा एकैपटक पार्टीको प्रदेश कमिटी सदस्यमा अवसर पाएका थिए। त्यसअघि सदस्यता नलिँदै २०७४ मा माओवादीबाट प्रदेशसभाको उम्मेद्वार बनेका थिए। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । यहाँ एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत