शनिबार, साउन ५, २०८१

पुर्वमा माओवादी सरकारमा नजाने


कान्तिपथ


नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको बताए । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उनले भने, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’

यसअघि एमाले र माओवादी दुबै दलका शीर्ष नेताले प्रदेश सरकारमा आलोपालो हुने बताएका थिए । मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउदै मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुनसक्ने बताएका थिए । तर, हिजो साझ शीर्ष नेताहरुबीच भएको सहमतिमा मुख्यमन्त्री ५ वर्ष नै एमालेले पाउने उल्लेख भएपछि माओवादी असन्तुष्ट भएको हो ।

सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ । केन्द्रबाट भएको भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।

एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल आजै विस्तार गर्ने तयारी थियो । माओवादीले आज सरकारमा सहभागी नहुने विषयको जानकारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत