बिहिबार, साउन १०, २०८१

सुदूरपश्चिममा पहिलो चरणको मुख्यमन्त्री बन्दै एमालेका रावल


कान्तिपथ


सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरुलाई दाबी गर्न दिएको एक साताको समय सीमा आज (बुधबार) ५ बजे सकिँदै छ।

सोही समय सीमाभित्र सुदूरपश्चिमले आजै दोस्रो मुख्यमन्त्री पाउनेछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेस गर्ने अन्तिम तयारी गरेका छन्।

एमाले र माओवादी केन्द्रबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व एमाले पाएको छ।

एमालेका तर्फबाट संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

रावललाई माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन छ। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सांसद छन्।

यहाँ सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमाले नेतृत्वमा बन्ने प्रदेश सरकारका पक्षमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसद छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत कैदी रिहाइ नहुञ्जेल कुनै राजनीतिक दललाई समर्थन नगर्ने अडानमा थियो।

मंगलबार केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विश्वासको मत दिएसँगै नागरिक उन्मुक्ति प्रदेशमा पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने अवस्थामा पुगेको हो।

नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे पनि माग सम्बोधन नहुञ्जेल सरकारमा नजाने जनाएको छ। सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९, नेकपा एकीकृत समाजवादीसँग ४ र एक जना स्वतन्त्र हैसियतका सांसद प्रदेश सभामा रहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत