नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्वको रौनक छाएको छ ।
नवलपुर जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला भएकाले पनि यहाँ माघी सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै माघीको रौनक सुरु हुन्छ ।
विगत दुई वर्ष कोरोना सङ्क्रमणको महामारीका कारणले प्रभावित बनेको माघी पर्व यस वर्ष भने हर्ष उल्लासका साथ मनाइँदै छ ।
थारू समुदायले माघ एक गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने प्रचलन छ ।
जिल्लाको कावासोती, देवचुली, मध्यविन्दु, गैँडाकोट नगरपालिकाको विभिन्न ठाउँ डण्डा, पिठौली, अमलटारी, कोल्हुवा, प्रसौनी, पिप्रहर लगायतका विभिन्न स्थानमा माघीको अवसरमा खिचडी महोत्सव, झाम्टा नाच, लाठी नाचलगायत सांस्कृतिक कार्यक्रम तथा थारू समुदायको मौलिक खेल भोदी खेल प्रतियोगिता, स्लो साइकल रेस, कुर्ची दौड, फुटबल, भलिबललगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएका छन् भने शुभकामना आदान प्रदानका कार्यक्रम समेत भएका छन् ।
थारू, बोटे, माझी समुदायले सञ्चालन गर्दै आएको कावासोती १५ मा रहेको अमलटारी घरबास (होम स्टेमा) माघीको निकै रौनक छ । यस समयमा यहाँ आउने पर्यटकहरूले थारू समुदायको सांस्कृतिक कार्यक्रमको मनोरञ्जनमा सरिक हुन पाएका छन् । घोँगी, माछा , चिच्चर लगायतका परम्परागत खानाको स्वाद लिँदै माघी पर्वको रौनकमा रमाएका छन् ।
राष्ट्रिय थारू सङ्ग्रहालय कावासोती १६ डण्डाका अध्यक्ष जामुन राम महतोका अनुसार जिल्लाका सबै पालिकामा माघीका विशेष कार्यक्रम राखिएको बताउनुभयो ।
एक हप्ता अघिदेखि नै खिचडी महोत्सवलगायत शुभकामना आदान प्रदानको कार्यक्रम भइराखेको उहाँले बताउनुभयो ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व मनाउने गर्दछन् । माघ १ गतदेखि तिन दिनसम्म धुमधामका साथ नवलपुरमा यो पर्व मनाइन्छ ।
माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने परम्परा रहेको अमलटारी घरबास (होम स्टेका) अध्यक्ष प्रेम शङ्कर मर्दनिया थारूले बताउनुभयो ।