अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिकामा ३० लाखको लागतमा चिउरी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ मा पहिलो गाउँसभाले ढकारी गाउँपालिकामा स्थानीय चिउरीलाई सङ्कलन गरि स्थानीय चिउरी उत्पादनलाई व्यवसायीक बनाउने उद्देश्यले चिउरी प्रशोधन केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।
प्राविधिकको अभावका कारण लामो समय सम्म सञ्चालन हुन नसकेको चिउरी प्रशोधन केन्द्र सञ्चालनमा आएको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले बताउनुभयो ।
चिउरी प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै ढकारी गाउँपालिकाका चिउरा उत्पादन गर्ने किसानको आर्थिक आयआर्जनमा सुधार आउने अपेक्षा गरिएको अध्यक्ष साउँदको भनाइ छ ।
ढकारी गाउँपालिकामा उत्पादन भएका चिउरी किसानबाट खरिद गरि चिउरीबाट तेल उत्पादन,चिउरी जुस उत्पादन, चिउरी साबुन उत्पादन गरि बजारीकरण गरिने अध्यक्ष साउँदले बताउनुभयो ।
चिउरी प्रशोधन केन्द्र सञ्चालनले ढकारी गाउँपालिका बेरोजगार नागरिकले रोजगारी समेत पाउने छन् । चिउरी प्रशोधन केन्द्र लामो समयसम्म अलपत्र जस्तै
बनेको थियो । पाँच बर्ष अघिदेखि बजेट विनियोजन भए पनि सञ्चालनमा नआएपछि अनियमितताको आरोप समेत लागेको थियो ।
स्थानीयले यसको दिगोपनाको माग गरेका छन् । केन्द्रको मेशिन अघिल्लो बर्ष नै ल्याइसकेको र हाल प्राविधिक ल्याएर सञ्चालनमा ल्याइएको अध्यक्ष साउँदको भनाइ छ ।