शनिबार, चैत्र १८, २०७९

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै


कान्तिपथ


जलेश्वर । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।

पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताउनुभयो । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् ।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन् । आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् ।

मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ । जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्र्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउनुहुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत