जुम्ला । जुम्लामा दुई दिनदेखि अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ ।
हिमपातका कारण मङ्गलवारदेखि अवरुद्ध हवाई सेवा बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले धावन मार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको जुम्ला विमानस्थलका निमित्त प्रमुख राजीव श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार धावनमार्गको हिउँ पन्छाए लगत्तै तारा र समिट एयरले उडान गरेका छन् ।
मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको थियो । जसका कारण नेपालगन्ज र जुम्ला विमानस्थलमा यात्रु अलपत्र अवस्थामा थिए ।
बिहीबार रातिदेखि नै मौसममा सुधार आएपछि बिहान ७ बजे नै नेपाली सेना लगायत सुरक्षा निकाय पुगेर धावन मार्गको हिउँ पन्छाइएको नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।
हिमाली जिल्ला जुम्लाको वैकल्पिक भरपर्दो हवाई सेवा ठप्प हुँदा सास्ती खेपेका नागरिकको समस्यालाई मध्यनजर गर्दै तत्काल विमानस्थल खुलाइएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
यता लगातारको हिमपात र वर्षाले आएको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पनि सञ्चालनमा आएको सडक डिभिजन जुम्लाले जनाएको छ । पहिरोले तिला गुफा नगरपालिका ४ राँचुलीमा राजमार्ग अवरुद्ध भएको थियो ।