राष्ट्रपति निर्वाचन र दलहरुको गतिविधिले राजनीति गर्माएको छ । सत्ता गठबन्धन भित्र बालकोट सहमतिमा मतभेद चलिरहँदा नेपाली कांग्रेस यसको फाइदा उठाउन कम्मर कसेर लागेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर रणनीतिक युद्ध सुरु गरेको कांग्रेस प्रचण्डलाई फकाएर सत्तामा फर्किने दाउमा छ । गठबन्धन कायम राख्ने या समिकरण बदल्ने त्यसको सर्वाधिकार प्रधानमन्त्री प्रचण्डको पोल्टामा पुगेको छ । यस्तोमा कस्तो रहला त सम्भावित राजनीतिक परिदृश्य ?
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसंगै दलहरुको दौडधुप बाक्लिएको छ । राष्ट्रपतिकै कारण सत्ता गठबन्धन धर्मराएको छ भने कांग्रेस सहितको नयाँ समिकरणको चर्चा पनि चलिरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने पक्षमा उभिएको छ । तर, माओवादीले खोजेको राष्ट्रिय सहमतिको साझा व्यक्ति को र कस्तो हो ? यो अनुत्तरित र गम्भिर प्रश्न हो ।
प्रधानमन्त्रीकै लागि कांग्रेससंगको सहकार्य तोडेर एमाले अध्यक्ष केपी ओलीसंग हात मिलाएका प्रचण्डका पछिल्ला गतिविधिले एमालेमा तरङ्ग फैलिएको छ ।
पुस १० गतेको पूर्व सहमति अनुसार नै राष्ट्रपति आफुले पाउनुपर्ने अडान एमालेको छ । तर, प्रधानमन्त्री प्रचण्डले शुद्ध एमालेलाई राष्ट्रपति नस्विकार्ने भएपछि ओली माधवकुमार नेपाल देखि महन्थ ठकुरसम्मको कार्ड खेल्न थालेका छन् ।
एमाले नेताहरु प्रचण्ड पूर्व सहमति कार्यान्वयनमा इमान्दार नदेखिए उनले राजनीतिक रुपमा ठुलो क्षती व्यहोर्नुपर्ने चेतावनी दिन थालेका छन् ।
राष्ट्रपतिकै बिषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको तिक्तताले राजनीतिक कोर्स फेरीने त होइन भन्ने प्रश्न गज्जबले उठ्न थालेको छ । जनमतबाट नभई जस्केलाबाट प्रधानमन्त्री बनेका प्रचण्ड यतिबेला कसरी हुन्छ आफ्नो कार्यकाल पाँचै बर्ष लम्बाउने ध्याउन्नमा देखिन्छन् ।
जसका लागि उनी जुनसुकै कदम चाल्न पनि तत्पर देखिन्छन् । यता, आफ्नै हठका कारण सत्ता गुमाएको कांग्रेस एमाले–माओवादी लडाएर सत्तामा फर्किने च्याखे दाउ हेरेर बसेको छ ।
जनताको अवस्था बदल्न सचेत बन्नुपर्ने दलहरु यसरी सत्ता केन्द्रित राजनीतिमा रुमलिँदा देश अस्थिरताको भुमरिमा फस्न सक्ने विश्लेषक केशव दाहाल बताउँछन् ।
पछिल्लो समय मुलकको राजनीतिको मियो नै माओवादी र प्रधानमन्त्री प्रचण्ड बनेका छन् । अझ माओवादी पदाधिकारी बैठकले आगामी राष्ट्रपति कसलाई बनाउने निर्णय लिने अधिकार प्रचण्डलाई सुम्पिएको छ ।
जसले अबको राजनीतिक समिकरण कस्तो बन्छ त्यो प्रचण्डमा निर्भर छ । के प्रचण्डले आफुले भनेजस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न सक्लान् ? कि उनको यो रटान सत्ता बार्गेनिङ्को साँचो मात्रै बन्ला ? फागुन १३ गते भित्रै यसको पटाक्षेप हुनेछ । न्युज २४ नेपाल डट टिभीमा समाचार छ ।