शनिबार, अशोज ५, २०८१

फागु पूर्णिमाका लागि साढे ८ हजार प्रहरी परिचालन


कान्तिपथ


फागु पूर्णिमाको सुरक्षाका लागि काठमाडौं उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको बताए। उनले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिए।

होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरिएको उनको भनाइ छ। मादक पदार्थ, लागूऔषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुई जना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइएको श्रेष्ठले बताए।

प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सुरक्षा योजना तयार गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पठाएका छन् भने उपत्यका प्रहरी कार्यालयले सो योजना प्रहरी प्रधान कार्यालयमा पेस गरेको छ।

पाँच दिनअघि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सुरक्षा जारी गरी शान्तिपूर्ण रूपमा होली खेल्न अपिल गरेको थियो। होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरूको समूहमा होली नखेल्न आग्रह गरेको थियो।

नेपाल प्रहरीले सर्वसाधारणका नाममा अनुरोध जारी गर्दै सभ्य एवं सुरक्षित, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको छ। ‘कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं। श्रृंगार गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं, रेलिङ नभएको छत र सडकमा होली नखेलौं, आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं,’ प्रहरीले जारी गरेको अपिलमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले भीडभाड हुने स्थानमा नजानसमेत आग्रह गरेको छ। प्रहरीले इच्छाविपरीत होली खेले जबरजस्ती गरे तत्काल सार्वजनिक अपराध, अभद्र व्यवहारलगायतमा मुद्दा दर्ता गराइने जनाएको छ।

प्रहरी प्रधान कार्यालयले सबै जिल्ला कार्यालयलाई पत्राचार गरी होलीमा चुस्त सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिएको छ। यस वर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज सोमबार र तराई मधेशका जिल्लामा भोलि मंगलबार मनाइँदै छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत