नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन्।
कांग्रेस दोलखाले नेविसंघजिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला सभापति तोकेको भन्दै सभापति लामाले राजीनामा माग गरेका हुन्।
गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनेको थियो। जसअनुसार माघ १० गते सौगातको नाम पठाइएको लामा बताउँछन्।
साथै सभापति बर्माले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग गरेका छन्।
नेविसंघ केन्द्रीय समितिबिहीन छ। कांग्रेसले नेविसंघमा अध्यक्ष शेर्पालाई नियुक्त गरे पनि उनको म्याद सकिन लागेको छ। नेविसंघ केन्द्रीय समितिले पूर्णता नपाइकन स्ववियु चुनाव आएको भन्दै जिल्ला अध्यक्षलगायत विभिन्न पदमा मनोनीत गर्न थालेपछि विवाद भइरहेको छ।
संस्थापनइतर समूहले पनि नेविसंघको समानान्तर समिति बनाएर स्ववियु चुनावलगायत तयारी थालेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ