काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच वृद्धि गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार शुभकामना व्यक्त गर्नुहुँदै सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले राज्यका हरेक तहमा महिला प्रतिनिधित्वको सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार र महिलाको कुल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा सकारात्मक परिवर्तन देखिए पनि अझै संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
मन्त्री शर्माले समाजमा विद्यमान विकृति र विसंगतिद्वारा थोपरिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता भएको बताउनुभएको छ ।
शुभकामना सन्देशमा मन्त्री शर्माले राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय र समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ