शनिबार, अशोज ५, २०८१

मुलुकले तेश्रो राष्ट्रपति पाउँदै : अंकगणितमा रामचन्द्र धेरै अगाडी


कान्तिपथ


मुलुकले आज बेलुकीसम्म नयाँ राष्ट्रपति पाउने भएको छ। राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै छ। राष्ट्रपति पदका लागि नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन्।

यी दुईमध्ये एकलाई राष्ट्रपति चुन्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।

मतदान सम्पन्न हुनासाथ मतगणना सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्।

आज पौडेल र नेम्वाङमध्ये एकजना नेपालको तेस्रो राष्ट्रपति बन्नेछन्। निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छ। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको सबैभन्दा ठूलो दल कांग्रेसको ७ हजार ८२१ मतभार छ। कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४०० हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २२१ छ।

७८ जना प्रतिनिधि सभा र १५ जना राष्ट्रिय सभा सदस्य रहेको एमालेको ७ हजार ४२६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७२८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १५४ छ।

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ३२, प्रदेश सभामा ८३ र राष्ट्रिय सभामा १५ सांसद छन्। यस आधारमा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ९७ हुन्छ।

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत