निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आयोगले राष्ट्रपतिमा खस(आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।
निर्वाचन कार्यक्रम अनुसार फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
९ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषयले विवाद बल्झिने संकेत देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीको दाबीले गठबन्धनमा विवाद बढ्ने देखिएको हो ।
उपराष्ट्रपतिको बारेमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने तयारी भएको छ । पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तयारी भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।
शीर्ष नेताहरूबीचको बैठक पनि बस्ने तयारी भएपनि समय टुंगो नलागेको उनले बताए । जसपाले बिहीबार उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् । तर, नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ