नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।
वर्तमान आईजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । बढुवा समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी दिन सकिनेछ । कसैको उजुरी नपरे सिफारिस भएका ५ जनाले चैतको पहिलो साता एआईजीको फुली लगाउने छन् । एआईजीको फूली लगाएकै एक सातामै एक जनाले आईजीपी बन्ने अवसर पाउने छन् ।
एआईजीको बढुवा सिफारिसअनुसार एआईजीको वरियतामा कुँवरलाई पहिलो नम्बरमा राखिएको छ । यसअघि गत असारमा एसएसपीबाट डीआईजीमा बढुवा हुँदा पनि कुँवर पहिलो नम्बरमा थिए । त्यसअघि एसपीबाट एसएसपीबाट बढुवा हुँदा भने १३ औँ नम्बरमा रहेका थिए । उनले डीआईजीको बढुवामा छलाङ मारेका थिए ।
प्रहरी नियमावलीअनुसार सरकारले उपलब्ध एआईजीमध्येबाट र एआईजी नभएको अवस्थामा उपलब्ध डीआईजीमध्येबाट आईजीपी बनाउने उल्लेख छ । अन्तिम समयमा भएको बढुवा सिफारिससँगै भावी आईजीपी एआईजीबाट बढुवा हुने तय भएको छ । प्रहरी नियमावलीअनुसार सरकारले कार्य सम्पादन मूल्यांकन, नेतृत्व गर्ने क्षमता, कार्य कुशलतालगायतलाई आधार मानेर आईजीपी बनाउन सक्ने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ