नर्वेली फरवार्ड अर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनल अन्तर्गत मंगलबार राति दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपिजलाई ७–० गोलले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो लेगमा भने सिटीले ७–० गोलसहित समग्रमा ८–१ को जित निकाल्यो।
मंगलबार सिटीलाई एकपक्षीय जित दिलाउन हालाण्डले ५ गोल गरे। इल्के गुन्डोगान र केभिन डी ब्रुएनले १–१ गोल थपे। हालाण्डले खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए।
इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली सिटीले २२औं मिनेटमै हालाण्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि सिटीलाई पेनाल्टीको मौका मिलेको थियो।
खेलको २४औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता २-० को बन्यो। पहिलो हाफको इन्ज्युरी समयमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटीले ३-० को अग्रता लियो।
खेलको ४९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए। यस्तै, ५३औं मिनेटमा हालाण्डले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ५-० को सुविधाजनक स्थितिमा पुर्याए।
खेलको ५७औं मिनेटमा हालाण्डले व्यक्तिगत पाँचौ गोल गरे। त्यसपछि खेलको इन्ज्युरी समयमा ब्रुएनले गोल गर्दा सिटी ७-० ले विजयी भयो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ