नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।
नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन्।
कुँवरपछि क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरो दुई दशकभन्दा बढी रहेर काम गरेका राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ। लामो समय बिना बर्दी काम गरेका राईले एसपी हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन्। केन्द्रीय प्रवक्ता भएर समेत काम गरेका उनी हाल लुम्बिनी प्रदेश प्रमुखको रुपमा कार्यरत छन्।
तेस्रो नम्बर बढुवा भएका थापा हाल बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डीआईजी भएपछि प्रबन्ध महाशाखामा रहेर थापाले सेवा गरेका छन्।
प्रस्तावित एआईजी ज्ञवालीको उमेर विवाद छ । उनले २५ वर्ष कटिसकेपछि सेवा प्रवेश गरेको खुलेको थियो । उनका कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।
सरकारले एआईजीमध्येबाट जो कोहीलाई पनि आईजीपी नियुक्त गर्न सक्छ । एआईजीमा सिफारिस भएसँगै सबैले आईजीपीको दौडधुप सुरु गरेका छन् । विभिन्न शक्तिकेन्द्रमा धाएर आफूलाई आईजीपी बनाउन उनीहरूले ‘लबिङ’ गरिरहेका हुन् । पहिलो नम्बरमा सिफारिस भएकाले भावी आईजीपीमा कुँवरको सम्भावना बलियो देखिन्छ । उनीबाहेक दीपक थापा पनि आईजीपीका बलिया दाबेदार हुन्।
आईजीपीको दौडमा एक मात्र महिला किरण बज्राचार्य छन् । हालसम्म प्रहरी नेतृत्वमा महिला अधिकारी पुगेका छैनन् । उनी आईजीपी नियुक्त भए प्रहरीमा नयाँ इतिहास बन्नेछ । एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरेकी बज्राचार्यले डीआईजी हुँदा बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारी सम्हालेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगाउत ठाउँमा बसेर काम गरेको अनुभव बज्राचार्यको छ।
नयाँ आईजीपीका लागि कुँवर र थापाको नाम बढी चर्चामा छ । प्रहरी नियमावलीअनुसार सरकारले उपलब्ध एआईजीमध्येबाट र एआईजी नभएको अवस्थामा उपलब्ध डीआईजीमध्येबाट आईजीपी बनाउने उल्लेख छ । अन्तिम समयमा भएको बढुवा सिफारिससँगै भावी आईजीपी एआईजीबाट बढुवा हुने तय भएको छ । प्रहरी नियमावलीअनुसार सरकारले कार्य सम्पादन मूल्यांकन, नेतृत्व गर्ने क्षमता, कार्य कुशलतालगायतलाई आधार मानेर आईजीपी बनाउन सक्ने छ ।
विगतमा वरियता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउने गरिएको भएपनि अघिल्लो आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजविजि अधिकारका रुपमा ब्याख्या गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एआईजीमा बढुवा हुने पाँचै जना आईजीपीको दावेदार हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ