बिहिबार, माघ ३, २०८१

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ


कान्तिपथ


काठमाडौँ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पुँजी बजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरू आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए । 

निषेधित क्षेत्रमा धर्ना बसेपछि तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरिएको छ । पुँजी बजारसम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनको माग लिएर लगानीकर्ता नेप्सेको कार्यालयमा भेला भएका थिए ।

कार्यालय पुगेका लगानीकर्तालाई नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीले छलफलमा बस्न भनेपनि लगानीकर्ताले अध्यक्षसँग बाहेक अरुसँग कुरा नगर्ने भन्दै धर्ना दिएर बसेका थिए ।

कोइरालाले पुँजी बजार सुधारका लागि सुझाव प्रतिवेदन कार्यान्वयनको माग राखेको बताउनुभयो । “हाम्रो माग ५८ बुँदे सुझाव प्रतिवेदन कार्यान्वयन होस् भन्ने हो । पटक–पटक आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि उक्त प्रतिवेदनका सबै सुझाव अक्षरशः पालना हुनुपर्छ भनेर दबाब दिन भेला भएका हौँ”, उहाँले भन्नुभयो ।

पुँजी बजार सुधारका लागि करिब पाँच वर्ष अघि तयार पारिएको ‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन, २०७५’ का सुझाव पालना हुनुपर्ने लगानीकर्ताको माग छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत