बुधबार, फाल्गुन ९, २०८०

चैत ९ गतेदेखि सानिमा र रिलायन्स लाईफको एकिकृत कारोबार शुरु


कान्तिपथ


सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महिनापछि एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

दुबै कम्पनीले गत फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट र फागुन २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एक हुन लागेका हुन ।

दुई कम्पनी एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । मर्जरपछि कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वर, काठमाडौंमा रहने कम्पनीहरूले जानकारी दिएका छन् ।

यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । हाल सानिमा लाईफको चुक्तापूँजी रू. २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १० करोड कायम हुनेछ । पूँजी बृद्धि अभियानका लागि कायम गरेको चुक्तापूँजीको व्यवस्था बमोजिम सानिमा रिलायन्स लाइफको चुक्तापूँजी रू. ५ अर्ब पुग्नुपर्नेछ ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट यस वर्ष दुबै कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गरेका छैनन् । दुबै कम्पनीको शेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको छ ।

हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीले जानकारी दिएको छ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् ।

दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी रहेकाले एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकिकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत