शनिबार, अशोज १९, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • सांसदहरूद्वारा समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरूद्वारा समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा उहाँहरूले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद कुमार दसौदीले आफूलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितीलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गर्नुभयो ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएकामा धन्यवाद दिनुभयो । 

सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकार विपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गर्नुभयो  ।

सांसद सिंहबहादुर विश्वकर्माले सिरहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानुनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत