स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीका आमा समूहले सामूहिक आलु खेती थालेका छन् । गाँउमा लाहुरे आउँदा होस या विवाह, व्रतबन्ध हुँदा आमा समूहले आफ्नो सामूहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक सङ्कलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवाको काम गर्दै आइरहेका छन् । ग्रामीण क्षेत्रमा जन्म, मृत्यु, विवाह जस्ता कार्यका लागी आवश्यक भाँडाहरू जम्मा गर्नेदेखि लिएर चौतारो निर्माण, समाजघर निर्माण, सडक तथा विद्यालयहरूमा समेत आमा समूहले योगदान दिँदै आइरहेका छन् ।
यसरी गाउँमा विकास निर्माण र समाज परिवर्तनका लागी महत्त्वपूर्ण भूमिका खेल्दै आएको अर्जुनचौपारीको शिवालय आमा समूह कृषि कर्ममा लागेका छन् । गाउँपालिकाको अनुदानमा आलुको बिउ तथा रासायनिक मल प्राप्त भएपछि शिवालय आमा समूह अहिले पहिलो पटक सामूहिक कृषि कर्ममा जोडिएका हुन् । अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कमा रहेको शिवालय आमा समूह २०५७ सालमा स्थापना भई गाउँमा सक्रिय हुँदै आएको थियो । आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत पूर्ण अनुदानमा दिएको बागलुङ ताराखोला जातको आलु लगाइएको समूहले जनाएको छ ।
आमा समूहले जग्गा भाडामा लिएर सामूहिक रुपमा आलु लगाएका छन् । यो बर्खे आलु हो । चैत्रको पहिलो हप्ता लगाइएको आलु असारमा उत्पादन लिन सकिन्छ । अनुदानमा प्राप्त ८ सय केजी आलु लगाइएको समूहकी सचिव विपना काफ्लेले बताउनुभयो । समूहमा काम गर्दा एक आपसमा ज्ञान तथा सिप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएमा फेरि जग्गा विस्तार गरि आलु लगाउने सचिव काफ्ले बताउनुहुन्छ ।
समूहकी कोषाध्यक्ष रत्ना काफ्ले भन्नुहुन्छ । ‘समूहले पहिला यसरी कृषि कार्य गरेको थिएन् । यसपटक सामूहिक रुपमा आलु लगाएका छौँ । राम्रो भएमा अझै खेती विस्तारमा हामी लाग्नेछौँ ।’ पछिल्लो समय ग्रामीण भेगमा खेताला नपाउने समस्या भइरहेका बेला समूहमा आबद्ध सबै एकै ठाउँमा भएर आलु खेती गर्दा निकै रमाइलो लागेको कोषाध्यक्ष काफ्लेले बताउनुभयो । त्यस्तै बराहदेवी विक समूहले समेत सामूहिक रुपमा आलु लगाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ