मङ्लबार, माघ २९, २०८१

९ दिन जेठो हुँदा एआईजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारको निर्देशन


कान्तिपथ


प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। मंगलबार अख्तियारले गृहसचिवका नाममा पत्रचार गर्दै छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न पत्राचार गरेको हो।

गृह मन्त्रालयमा पत्र प्राप्त भएको र आवश्यक छानबिन तथा कारबाहीका लागि प्रक्रिया अगाडि बढेको गृहसचिव विनोदप्रकाश सिंहले बताए। यसअघि उमेर विवादकै कारण यहि ब्याचका डीआईजी अशोक सिंहले राजीनामा दिएका थिए।

बुधबार मात्रै एआईजीको दर्ज्यानी चिन्ह लगाएका श्यामलाल ज्ञवालीविरुद्ध उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपमा फागुन १४ गते उजुरी परेको थियो। ज्ञवालीले नागरिकताको जन्ममिति नै फरक पारेर सरकारी निकायलाई झुक्याई जागिर खाएको उजुरीमा उल्लेख छ।

प्रहरी नियमावली, २०४९ (दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम (१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुला प्रतियोगितामा छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको व्यक्तिले भाग लिन सक्नेछन् भन्ने व्यवस्था छ। २०५० मंसिर १ मा गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आह्वानमा समेत छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था देखिन्छ।

अख्तियारले भनेको छ, ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाण पत्रबमोजिम उक्त छनौट हुने साल २०५० को वैशाख १ गते २५ वर्ष ९ दिन हुन आउने देखिन्छ।’ प्रारम्भिक अनुसन्धानको क्रममा ज्ञवालीको उमेर ९ दिन बढी भएको पाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत