शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा (शुक्रवार) उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।
५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए ।
एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन्।
कुँवरपछि क्रमशः टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरो दुई दशकभन्दा बढी रहेर काम गरेका राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ। लामो समय बिना बर्दी काम गरेका राईले एसपी हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन्। केन्द्रीय प्रवक्ता भएर समेत काम गरेका उनी हाल लुम्बिनी प्रदेश प्रमुखको रुपमा कार्यरत छन्।
तेस्रो नम्बर बढुवा भएका थापा हाल बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डीआईजी भएपछि प्रबन्ध महाशाखामा रहेर थापाले सेवा गरेका छन्।
प्रस्तावित एआईजी ज्ञवालीको उमेर विवाद छ । उनले २५ वर्ष कटिसकेपछि सेवा प्रवेश गरेको खुलेको थियो । उनका कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।
सरकारले एआईजीमध्येबाट जो कोहीलाई पनि आईजीपी नियुक्त गर्न सक्छ । एआईजीमा सिफारिस भएसँगै सबैले आईजीपीको दौडधुप सुरु गरेका छन् । विभिन्न शक्तिकेन्द्रमा धाएर आफूलाई आईजीपी बनाउन उनीहरूले ‘लबिङ’ गरिरहेका हुन् ।
आईजीपीको दौडमा एक मात्र महिला किरण बज्राचार्य छन् । हालसम्म प्रहरी नेतृत्वमा महिला अधिकारी पुगेका छैनन् । उनी आईजीपी नियुक्त भए प्रहरीमा नयाँ इतिहास बन्नेछ । एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरेकी बज्राचार्यले डीआईजी हुँदा बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारी सम्हालेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगाउत ठाउँमा बसेर काम गरेको अनुभव बज्राचार्यको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ