अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा चार जना उपसचिव सहित नौ जनामाथि भ्रष्टाचारको कसुर ठहर गरेको छ । अनुसन्धान सुरु भएको ५ बर्षपछी भ्रष्टचार ठहर गरेको अदालतले दोषी उपर चैत्र ८ गते सजाय निर्धारण मिति तोकिएको जनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले ती कर्मचारीहरूको सजाय निर्धारणका लागि चैत्र ८ गते पेसी तोकेको हो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरी कार्यालयमा राजस्व रकम हिनामिना भएको भन्दै दुई फरक मितिमा आयोगले छुट्टाछुट्टै मुद्दा दायर गरेकोमा बुधवार फैसला गर्दै कसुर कायम गरिएको हो ।
यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ को फागुन मसान्तसम्मको राजस्व रकमबारे अनुसन्धान गरेकोमा ६१ करोड २१ लाख २८ हजार रुपैयाँ हिनामिना भएको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । उनीहरूमाथि २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट सङ्कलन गरिएको राजस्व बैङ्कमा नराखी नक्कली कागजातका आधारमा अनियमितता गरेको आरोपमा आयोगले मुद्धा दायर गरेको हो ।
आयोगले तत्कालिन इटहरी कार्यलयका प्रमुख तथा उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपालमाथि मुद्धा दायर गरेको थियो । उक्त मुद्दामा दाहालमाथि १२ करोड ३० लाख, पौडेलमाथी २३ करोड ७७ लाख र नेपालमाथी २५ करोड १३ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी सहित मुद्दा दायर गरेको थियो । त्यसैगरी लेखा अधिकृतहरू कुमार कटवाल उपर दुई करोड १४ लाख र टिकाराम अधिकारी उपर ५७ करोड २५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उति नै रकम बिगो माग दाबी सहित २०७४ असार ४ मा मुद्दा दायर भएको थियो । अर्का लेखा अधिकृत तथा मुख्य योजनाकार सुरेश अधिकारी माथि ६१ करोड २१ लाख २८ हजार रुपैयाँ बिगो कायम गर्दै लेखापालहरू देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख बिगो माग दाबी गरिएको थियो ।
उक्त कार्यालयमा भएको अनियमितताका विषयमा दायर अर्को मुद्दामा आर्थिक वर्ष २०६९/७० देखि २०७०/७१ सम्म बैङ्क दाखिला गर्नुपर्ने ८ करोड ९६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोग पत्रमा दाबी थियो । यस मुद्दामा पनि उपसचिवहरू पौडेल र होमनाथ भट्टराई नै प्रतिवादी बनाइ उनीहरू उपर क्रमशः आठ करोड ८२ लाख र १४ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको थियो ।
तत्कालीन लेखापाल तथा मुख्य योजनाकार सुरेश अधिकारी, मणिराज दाहाल र सह लेखापाल टंकबहादुर खड्का समेतलाई प्रतिवादी बनाई दायर मुद्दामा जनही आठ करोड ९६ लाख रुपैयाँ बिगो माग दाबी गरिएको थियो । दुवै मुद्दामा प्रतिवादी बनाइएका सबैमाथि कसुर ठहर भएको हो भने आगामी चैत ८ गतेको पेशीमा सजाय निर्धारण हुने विशेष अदालतले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ