सोमवार, अशोज २८, २०८१

बसन्त कुँवर प्रहरी आईजीपी नियुक्त : यस्तो छ जीवनी


कान्तिपथ


बसन्त कुँवर नेपाल प्रहरीको महानिरीक्षकमा (आईजीपी) नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा थिए ।

कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो।

उनी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्। भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वशन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन्।

महानिरीक्षक वसन्त बहादुर कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए।

२०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए। गत असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावि आईजीपीका रुपमा हेरिएको थियो।

२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा भए। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए।

उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन्।

कुँवरले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन्।

स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए।

प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए।

उनीसंग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ।

साथै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकारी शनिबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्दैछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको ब्याचका ९ जना अवकाशमा जान लागेका हुन् । अनिवार्य अवकाश जानेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी रहेका छन् ।

३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ रहेका छन् । थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, सुवेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख र लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा छन् ।

डीआईजीपी उपाध्याय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, आचार्य, सीआईबीमा, खा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत छन् ।

२०४९ चैत ११ मा सेवा प्रवेश गरेका दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे रहेका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा जान लागका हुन् । पाण्डे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र पञ्चियार नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत