काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विविध समसामयिक र राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको सुरुमा समय माग गरी सांसदहरुले कोशी प्रदेश नामकरणका विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा भएको घटना, सडक दुर्घटनाका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था, सरकारको काम कारबाही लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अशोक राईले कोशी प्रदेश नामकरणका क्रममा भएको विरोधको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरी प्रशासनको लाठी चार्जबाट घाइते पद्मकुमार लिम्बुको उपचारका क्रममा निधन भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटना दोहोरिन नदिन आग्रह गर्नुभयो ।
सांसद रामहरी खतिवडाले हालै ओखलढुङ्गा र सिन्धुलीमा भएको सडक दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिममा अवस्थित कर्णालीको चिसापानी पुल जीर्ण रहेकाले त्यसको पुनःनिर्माणका र मर्मत संहारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रभु शाहले राजस्व सङ्कलनका क्रममा नीतिगत भ्रष्टाचार भइरहेको, किसानले मलको अभाव झेल्नु परिरहेको र जनजीवन प्रभावित भइरहेको अवस्थामा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ