प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।
स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको छ। सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ।
उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन्। प्रभु साह पनि मन्त्री बन्दै छन् । स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदीलाई उर्जा मन्त्री बनाउने तयारी छ । उर्जामा जाने तयारीमा रहेका मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भने पानी बारबारको स्थिति छ ।
२०७६ जेठ ७ गते संसदको सार्वजनिक लेखा समितिमा सांसद मोदीले घिसिङ्गलाई भ्रष्टाचारी भएको आरोप लगाए । जवाफमा घिसिङले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्न तयार रहेको चेतावनी दिए ।
सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेको घिसिङको प्रत्यारोप थियो । ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकिएका छैनौं,’ उनले भनेका थिए ।
सांसद मोदीले भने लोडसेडिङ अन्त्य गरेको जस लिँदै विद्युत प्राधिकरणमा भ्रष्टाचार गरेको आरोप कुलमानमाथि लगाएका थिए । उनले भनेका थिए, ‘२५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरिएको छ । आफ्ना विद्युत गृहबाट उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ । त्रिशुली ३ बी सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ? उहाँको दम्भ बढ्दै गएको छ ।’ Video : Onlinekhabar
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ