काठमाडौं- सत्ता साझेदार दलबीच मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्ता साझेदार दलहरुको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउदै आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो ।
सत्ता गठबन्धनमा रहेका दलहरु मध्य जनमोर्चा बाहेक सबै दल सरकारमा जाने बताउदै जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
बैठकमा मन्त्रालयको बाँडफाँडमा सहमति भएपनि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषय पनि आजै टुंगो लाग्ने नेता श्रेष्ठले बताउनु भयो । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छुंगो लगाउन दलहरुले आज आ-आफ्नो दलका बैठक राखेका छन् ।
यसैबीच सरकारको न्यूनतम साझा कार्यक्रम पनि चाँडै सार्वजनिक गरिने भएको छ । नेता श्रेष्ठका अनुसार राजनीतिक दलका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममाथि लिखित र मौखिक सुझाव आएको छ । सुझाव अध्ययनपछि साझा कार्यक्रम सार्वजनिक हुने उहाँले जानकारी दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ