शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठ भन्नुभयो : माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् 

मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठ भन्नुभयो : माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् 


कान्तिपथ


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटर ब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ । 

अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उहाँले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

मिटर ब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरू गृहजिल्ला फर्कने तयारीमा छन् । उहाँले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, “तपाईँहरू ढुक्क भएर घर फर्किनुहोस् । तपाईँका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”

घर फर्किनुअघि उनीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरू आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “उहाँहरू अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरूको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।”

वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको बताउनुभयो । “उहाँहरूको अवस्था सामान्य छ । केही दीर्घ रोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो । 

पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किने तयारीमा रहेको बताए । उनीहरूले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् ।

“सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भन्नुभयो, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।”

मिटर ब्याज पीडितहरू ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत