काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले महिनावारीका बेला महिला तथा किशोरीहरूले भोग्दै आएका विभेद अन्त्य गर्न कानून बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एक्सपोज नेपालले आज ललितपुरमा आयोजना गरेको महिनावारी सवाल र विधायकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्व मन्त्री जुलीकुमारी महतोले धार्मिक, सांस्कृतिक र सामाजिक रूपले कुरीतिका रुपमा रहेको महिनावारी बार्ने परम्परा अन्त्य गर्न कानून बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कतिपय किशोरीहरूले अझै पनि महिनावारीका बेला विद्यालय जान नपाएका गुनासा आउने गरेको भन्नुहुँदै उहाँले महिला सांसदहरुबीच छलफल गरेर महिनावारीको विषयले संसद्मा प्रवेश पाउने बताउनुभयो ।
सांसदहरु निशा डाँगी, कल्पना मिया, आशा विक, हितबहादुर तामाङ, ऐनबहादुर शाही र अमर बहादुर थापाले महिनावारीका बेला कसैले पनि छोइछितो गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा अभियन्ता ज्ञान महर्जनले महिनावारी, महिलाको मात्रै विषय नभएकाले सबैले यस विषयप्रतिको धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले किशोरीहरूको पहिलो महिनावारी, स्यानीटरी प्याडको प्रयोग, सरसफाइ लगायतका विषय महत्वपूर्ण भएकाले पाठ्यक्रममा अनिवार्य रुपमा महिनावारी शिक्षा समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार प्रकाश बस्याल लक्ष्मी पौडेल, शोभा घिमिरेलगायतले मर्यादित महिनावारी शिक्षा प्रत्येक किशोरीहरूले पाउनुपर्ने बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ