सोमवार, मंसिर २४, २०८१

जाजरकोट दरबारलाई संग्राहलयको रुपमा स्थापना गर्न अभियान शुरु  


कान्तिपथ


जाजरकोट । जाजरकोटमा रहेको १५३ वर्ष पुरानो सेतो दरबार रहेको जाजरकोट दरबार क्षेत्रलाई कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दरबारलाई संग्राहलय  स्थापनाको अभियान सुरु गरिएको छ । 

भेरी नगरपालिका वडा नं. ३ को पिपलडाँमा अवस्थित हाल जिल्ला समन्वय समिति रहेको  २५४ वर्ष पुरानो रातो दरबार र जिल्ला प्रशासन कार्यालय रहेको १५३ वर्ष पुरानो सेतो दरबार रहेको जाजरकोट दरबार क्षेत्रलाई जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा संग्राहलय स्थापनाको अभियान सुरु गरिएको हो । 

मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहिलो दरबार संग्राहलयको रुपमा जाजरकोट दरबारलाई संग्राहलय बनाउन लागिएको हो । 

जिल्लाको इतिहास, कला, संस्कृति भाषा र अन्य पहिचानसँग सम्बन्धित सबै प्रकारका  सामाग्रीहरू र दस्ताबेजहरूको उचित सङ्कलन, व्यवस्थापन तथा प्रदर्शनमार्फत दरबारलाई संग्राहलय स्थापना गरेपछि स्थानीय जनताको आय आर्जनमा समेत सहयोग पुग्ने जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयो ।

विक्रम संवत् १८५२ सालमा राजा इन्द्रनारायण शाहले निमार्ण कार्य सुरु गरेर उनका पनाति जाजरकोटका २०औँ राजा नरेन्द्र विक्रम शाहले भव्य स्वरूप प्रदान गरेको यो सेतो दरबारका चार नाल मध्य एक नाल वि.स.२०२९ सालमा जिल्ला पञ्चायतले भत्काएपछि अहिले यो तीन नालमा सीमित भएको छ । 

हेर्दा निकै आकर्षक देखिने जाजरकोट दरबारले जो कोहीलाई पनि मोहित बनाउँछ । कलात्मक शैलीमा निमार्ण गरिएको उक्त दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । ऐतिहासिक जाजरकोट दरबार संग्राहलय बन्ने भए आफूहरू दरबार छेउमै रहेको आफ्नो जग्गामा छुट्टै भवन बनाएर जिल्ला प्रशासन कार्यालय लाई उतै सार्न सकिने जिल्ला प्रशासन कार्यालय जाजरकोटको भनाइ छ ।

सरकारले १ सय पर्यटकीय गन्तव्यमा समावेश गरेको जाजरकोट दरबार हाल उचित संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीय दीप बहादुर घर्ती बताउनुहुन्छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले अगुवाइ गरेको जाजरकोट दरबार संग्राहलय बनाउने  अभियान निकै सान्दर्भिक र  जरुरी रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, जिल्ला समन्वय समितिको कार्यालय रहेको रातो दरबार जाजरकोट राज्यका ९ औँ राजा मन्दिर शाहका छोरा विरम्मा शाहले जगतिपुरवाट खलंगामा राजधानी सारेपछि सुरुमा सामान्य अवस्थाबाट राजकाज चलाएको तर जाजरकोटका १६ औँ राजा हरि शाहले वि.स. १८२५ माघ महिनामा निमार्ण कार्य सुरु गरेर रातो दरबार बनेको पुराना दस्ताबेजहरूमा पाइन्छ । रातो दरबार जाजरकोट खलङ्गाको पहिलो दरबार पनि हो । 

पुरातात्त्विक महत्त्व, निर्माण कला र ऐतिहासिकताका हिसाबले निकै महत्त्वपूर्ण यो रातो दरबार आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि निकै आकर्षक सम्पदा हो । 

गोरखाका राजा पृथ्वीनारायण शाह र जाजरकोटका राजाहरू हरि शाह तथा उहाँका छोरा गजेन्द्र शाहले १८२५ माघ ७ गते र त्यसपछिका समयमा गरेका सबै सन्धिहरू यही रातो दरबार देखि सञ्चालित शासनकालमा भएका थिए ।

त्यसैगरी, प्रथम विश्व युद्धमा १ सय ५० जना जाजरकोटीको सहभागिता, नेपाल एकीकरणमा जाजरकोटी सेनाको योगदान र बाँके, बर्दिया, कैलाली, कन्ञ्चनपुरलाई नयाँ नेपालको रुपमा विशाल नेपालभित्र गाभ्ने काममा ८ सय जाजरकोटी सेनाले गरेको योगदान, पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाकी दुई छोरीहरू दिर्घकुमारी र जगतकुमारीले एकै लगनमा जाजरकोटी राजासँग गरेको विवाह राजा दिपनारायण शाहले तत्कालीन श्री ५ रणबहादुर शाहकी छोरी दुर्गाकुमारी शाहसँग गरेको विवाह तिब्बतमा बहादुर शाह बन्धकमा परेका बेला उनको उद्धार गर्न जाजरकोटी सेना परिचालन भएको लगायतका अन्य महत्वपूर्ण ऐतिहासिक कामहरू सेतो दरबारबाट सञ्चालित शासनकालमा भएको पुराना दस्ताबेजहरूमा पाइन्छ ।

जीर्ण अवस्थामा पुगिसकेका यी दरबार जिल्लाको आर्थिक पर्यटन विकासको मुख्य सम्भावना हो । यसको मौलिक स्वरूप जोगाउँदै समग्र कर्णालीको लागि मुख्य पर्यटकीय गन्तव्य बनाउन सबैले चिन्ता गर्नु पर्ने वेला आएको छ र दरबारलाई संग्राहलय  स्थापनाको अभियान सुरु भएपछि जिल्लावासी खुसी भएका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत