बारा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले अहिलेको सत्तागठबन्धनले आफूलाई उपप्रधानमन्त्री बन्न दिएको अफर अस्वीकार गरेको बताउनुभएको छ ।
बारा उद्योग बाणिज्यसंघमा जनमत पार्टीले आयोजना गरेको वर्तमान समसामुहिक विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पद भन्दा मुद्दा ठुलो भएको हुँदा आफ्नो पार्टी सरकारमा नगएको बताउनुभयो । उहाँले भन्नुभयो,‘तराई मधेसको यावत समस्यालाई समाधान गर्न अहिलेको सत्ता गठबन्धन संवेदनशील नरहेकोले उपप्रधानमन्त्रीको पद मात्र अस्वीकार गर्दै आफ्नो पार्टीबाट सरकारमा रहेको मन्त्रीलाई समेत फिर्ता बोलायौँ ।’
उहाँले थप्नुभयो,‘पद मेरो लागि ठुलो होइन, मधेसी जनताको मुक्ति गराउने सवाल ठुलो हो ।’ राउतले किसानको मलखाँदको समस्या, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सिचाइको समस्या समाधान गर्नका लागि जनमत पार्टीको जन्म भएको हुँदा सो दिशामा अग्रसर हुने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । १५ वर्षसम्म सतामा मात्र बसेर काम नगरिरहेका मधेसी दलहरूले मधेसलाई ठग्ने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो । डाक्टर राउतले सानो समयमा मधेसको मुद्दा सदन मार्फत राष्ट्र व्यापी रुपमा पुगाउने काम जनमत पार्टीका सासदहरुले गरेको ठोकुवा गर्नुभयो । जातीय र साम्प्रदायिक कुरा गरेर जनतालाई अलमलाउनेलाई मधेसी जनताले पहिचान गरिसकेको भन्दै राउतले सदियौँ देखिको जङ्गलराज अव बारा निर्वाचन क्षेत्र नम्बर २ का जनताले तोड्ने बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ