प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाई, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरणमा उनीसँग करोडौंको सम्पत्ति भएको खुलेको छ ।
उनको ललितपुरको सुनकोठीमा घरजग्गासहित देशका विभिन्न ठाउँमा करोडौंको सम्पत्ति भएको खुलाएका छन् । सम्पति विवरणमा ललितपुरको सुनाकोठीमा दुई कित्तामा गरि ९ आना र १ आना २ पैसाको जग्गामा बनेको साढे दुई तल्ले पक्की घर भएको उल्लेख गरिएको छ ।
आचार्यसँग विराटनगरमा १५ धुर क्षेत्रफलमा बनेको साढे दुई तल्ले पक्की घर छ । उनले ललितपुरको जमिन तथा घर ३६ लाख रुपैयाँको र विराटनगरको सम्पत्ति १३ लाख ५० हजार रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन् ।
उनले मोरङको हात्तीमुडा गाउँपालिकाको ४, २ र २ (क) वडामा विभिन्न कित्ता नम्बरमा जमिन रहेको विवरणमा उल्लेख गरेका छन् ।
विवरणका अनुसार हात्तीमुडा गाउँपालिकाको ४ नम्बर वडामा १२०८, २०५ र १२०७ कित्ता नम्बरको जमिन रहेको छ । यी जमिनको क्षेत्रफल क्रमशः ४४० वर्ग मिटर, ३५० वर्गमिटर र १८४० वर्गमिटर रहेको उनले उल्लेख गरेका छन् । यी तीन जग्गाहरु ९ लाख १० हजार, ७ लाख २५ हजार र ४५ लाख ३५ हजारमा खरिद गरेको उनले विवरणमा उल्लेख गरेका छन् ।
हात्तीमुडाकै वडा नम्बर २ मा ६३ वर्ग मिटरको ४८७ कित्ता नम्बरको जग्गा, ८७५ वर्ग मिटरको ४८९ कित्ता नम्बरको जग्गा, २५४ वर्गमिटरको ४९१ कित्ता नम्बरको जग्गा र ७५५ वर्ग मिटरको ४९३ कित्ता नम्बरमो जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको विवरणमा उल्लेख छ ।
सँगै हात्तीमुडामै वडा नम्बर २ (क)मा उनीसँग १२.६० वर्गमिटरको ५६३ कित्ता नम्बरको जग्गा, ७८७.३० वर्गमिटरको ५६९ कित्ता नम्बरको जग्गा, २८७.१ वर्ग मिटरको ५६६ कित्ता नम्बरको जग्गा र १४३.९० वर्ग मिटरको ५८६ कित्ता नम्बरको जग्गा रहेको आचार्यले पेश गरेको विवरणमा उल्लेख छ । उनले यसको खरिद ३० लाख रुपैयाँमा गरेको विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ । आचार्यसँग रहेका चार बैंक खाताहरुमा ४५ लाख रुपैयाँ रहेको छ । एनआईसी एसिया बैंकको खातामा व्यवसायबाट प्राप्त ४० लाख रुपैयाँ रहेको, प्राइम कमर्सियल बैंकको खातामा व्यवसायबाट प्राप्त ५० हजार, बैंक अफ काठमाडौंको खातामा व्यवसायबाट प्राप्त ३ लाख ५० हजार र कृषि विकास बैंकको खातामा तलब भत्ताबाट प्राप्त १ लाख रुपैयाँ गरी कुल ४५ लाख रुपैयाँ रहेको उनले जनाएका छन् ।
आचार्यसँग ८० लाख रुपैयाँको सेयर रहेको छ । एनस्याट प्रा.लि काठमाडौंको ३३ प्रतिशत सेयर र जेएमडी ग्रुप अफ कम्पनीको ५० प्रतिशत सेयर आफूसँग रहेको उनले विवरणमा उल्लेख गरेका छन् । जसमध्ये एनस्याटको सेयर ३० लाख रुपैयाँको र जेएमडीको सेयर ५० लाख रुपैयाँको रहेको विवरणमा उल्लेख छ ।
आफूसँग हुन्डाईको क्रेटा गाडी रहेको र यसको खरिद मूल्य ४१ लाख रुपैयाँ रहेको आचार्यले विवरणमा उल्लेख गरेका छन् । आचार्यको नाममा प्रभु बैंकबाट ५ लाख र ओम थापा नामका व्यक्तिबाट ८० लाख गरि ८५ लाख रुपैयाँको ऋण समेत रहेको विवरणमा उल्लेख गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ