शनिबार, माघ ५, २०८१

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द


कान्तिपथ


म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिनुभयो ।

यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ ।

एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत